Nirman Khabar
Header Banner

कोशीमा ‘असारे विकास’ अन्त्य गर्ने प्रयास : ३३ प्रतिशत आयोजनाको अवस्था अन्योल

निर्माण खबर
निर्माण खबर | शनिबार, २७ मंसिर २०८२
समाचार सेयर गर्नुहोस्
कोशीमा ‘असारे विकास’ अन्त्य गर्ने प्रयास : ३३ प्रतिशत आयोजनाको अवस्था अन्योल

विराटनगर । पूर्वाधार विकास कार्यालय खोटाङले मङ्सिर १९ गते एकैपटक २८ वटा योजनाको बोलपत्र आह्वान गर्‍यो । ती सबै आयोजनाको लागत ११ करोड रुपैयाँभन्दा बढी छ । खोटाङ जिल्लामा लक्षित गरेर एकैपटक यति धेरै आयोजना ठेक्का प्रक्रियामा गएको यो पहिलो पटक भएको सो जिल्लाका कांग्रेस कार्यकर्ता अमृत गिरी बताउँछन् ।

खोटाङमा मात्रै नभएर कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले मङ्सिर २० गतेसम्ममा सबै योजना टेन्डर प्रक्रियामा लैजाने गरी निर्णय गरेको थियो । सो डेडलाइनमा करिब ६७ प्रतिशत योजना ठेक्का प्रक्रियामा गएका छन् । अन्य ३३ प्रतिशत आयोजनाको भविष्य भने अन्योलमा छ । यद्यपि आर्थिक वर्षको अन्त्यतिर बजेट कार्यान्वयनको हतारो गर्ने प्रवृत्ति भने यस पटक तोडिएको भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई बताउँछन् ।

हालसम्म पूर्वाधार विकास मन्त्रालय र मातहतका १४ जिल्लाका कार्यालयले बजेटको आधारमा करिब ७७ प्रतिशत र योजना सङ्ख्याको आधारमा करिब ६६.६५ प्रतिशत योजना टेण्डर प्रक्रियामा प्रवेश गराइसकेको मन्त्री राईले बताए ।

दिइएको तथ्याङ्क अनुसार पूर्वाधार विकास मन्त्रालय अन्तर्गत विकास निर्माणको काममा इलाम जिल्ला सबैभन्दा कमजोर देखिएको छ । मन्त्रालयले तयार पारेको १४ वटा जिल्लाको प्रगति विवरणमा इलाम पुछारमा देखिएपछि मन्त्री राईले चासो व्यक्त गरेका छन् ।

तथ्याङ्क अनुसार विवादित र बहुवर्षीय सिफारिस हुने योजनाबाहेक अन्य योजनामा ‘रकम विनियोजन’ र ‘योजना संख्या’ दुवै आधारमा इलामको प्रगति निराशाजनक छ । रकम विनियोजनको आधारमा सोलुखुम्बुले सबैभन्दा धेरै ९७.१५ प्रतिशत प्रगति हासिल गरेको छ भने इलामले मात्र ५३.१६ प्रतिशत प्रगति गरेको छ ।

त्यस्तै, योजना सङ्ख्याको आधारमा ताप्लेजुङले ९४.२३ प्रतिशत योजना अघि बढाउँदा इलामले केवल १५.७० प्रतिशत योजना अघि बढाउन सकेको छ ।

सोलुखुम्बुमा ८७ प्रतिशत, उदयपुरमा ८५.४२ प्रतिशत, सङ्खुवासभामा ४६.३० प्रतिशत र झापामा ५१ प्रतिशत योजना टेन्डर प्रक्रियामा गएका छन् ।

इलामको प्रगति विवरण कमजोर देखिएपछि मन्त्री राईले इलामस्थित पूर्वाधार विकास कार्यालयका डिभिजनल इन्जिनियर (डीई)लाई फोन गरेर यसको कारण सोधेका छन् । मन्त्री राईले अन्य जिल्लामा विवादित र बहुवर्षीय योजना बाहेकका कामहरू टेन्डर प्रक्रियामा गइसक्दा इलाम किन पछि पर्‍यो भनी आफूले प्रश्न गरेको बताए ।

‘अरुतिरको लगभग सकियो, विवादित जिल्लामा जग्गा विवाद भएको र बहुवर्षीय लान सिफारिस गर्ने बाहेकका सकियो । इलामको डीईलाई के भएको रहेछ भनेर अहिले बोलाएको छु,’ उनले भने ।

तपाईंको प्रतिक्रिया

प्रतिक्रियाहरू

यस समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

पहिलो प्रतिक्रिया दिनुहोस्!